मधेस कृषि विश्वविद्यालय, राजविराज र मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, काठमाडौँ बीच सक्षमता र पारस्परिकताको आधारमा वैज्ञानिक, शैक्षिक र प्राविधिक सहयोगको विकास गर्न र दुवै पक्ष बीच आपसी सम्बन्ध र समझदारीलाई बढावा दिने उद्देश्यले पाँच वर्षको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा. बैद्यनाथ महतो र मुक्तिनाथ कृषि कम्पनी काठमाडौँका नायब महाप्रबन्धक श्री रामशरण तिमल्सिनाले हस्ताक्षर गर्नुभएको छ।उक्त समझदारी पत्रमा हस्ताक्षर समारोहमा यस विश्व विधालय का रजिस्ट्रार डा. श्रीभगवान ठाकुर, विषयगत संकायका उप-प्राध्यापकहरु, कर्मचारीहरु र कम्पनीका मधेश प्रदेश प्रमुख शिवजी महतो, कोशी प्रदेशका प्रमुख धिरज केसी का साथै सन्तोष अधिकारीको उपस्थिति रहेको थियो ।
उक्त समझदारी पत्रमा निम्नानुसारको कार्य गर्ने समझदारी भएको छ।
• कृषि शिक्षा, अनुसन्धान तथा प्रसार गतिविधिहरूलाई जोड्ने परियोजनाहरूमा केन्द्रित दीर्घकालीन रुपमा सहयोग तथा सहकार्य गर्ने।
• कृषि अनुसन्धान, शिक्षा, कृषि व्यवसाय इन्टर्नसिपमा विद्यार्थीहरूको संलग्नताका लागि क्षेत्रहरूको पहिचान र कृषि स्नातकहरुलाई उक्त कम्पनीमा Intern कार्यमा अवसर प्रदान गर्ने ।
• विद्यार्थीहरूमा उद्धमशीलता विकास तथा कृषि व्यवसाय साक्षरतालाई उत्प्रेरित गर्ने।
• विश्वविद्यालयबाट उत्तीर्ण कृषि स्नातकहरूको वार्षिक रोजगारको रुपमा अवसर प्रदान गर्ने।
• दुवै पक्षबाट माटोको गुण, बोटबिरुवा र रोग किराको पहिचानको लागि विश्वविद्यालयका विद्यार्थीहरू, विभिन्न संकायका उपप्राध्यापकहरूबीच प्राविधिक समन्वयको सहजीकरण गर्ने ।
• कोष सिर्जना गर्नको लागि विभिन्न अनुसन्धानमूलक प्रस्तावहरूमा सहकार्य गरी अघि बढ्ने ।
• वैज्ञानिक र प्राविधिक सूचना तथा सामग्रीहरूको एकआपसमा आदान-प्रदान गर्ने।
• कृषि सम्बन्धि सम्मेलन, गोष्ठी, कृषि मेला इत्यादिमा दुवै पक्षको संलग्नता सुनिश्चित गर्ने।
• विभिन्न बालीको बिउ उत्पादन, प्रशोधन तथा बजारीकरणमा सहकार्य गरी अगाडि बढ्ने ।
• ऐन, नीति, नियममा आधारित भएर समग्रमा शैक्षिक तथा प्राविधिक सहकार्यको प्रवर्धन तथा विकास गर्ने।




